काठमाडौं, पुस १४ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेनबीच भएको सम्झौताप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनले उक्त सहमति देश र जनताको हितभन्दा पनि सत्ताकै लागि गरिएको दाबी गर्दै यसले विदेशी हस्तक्षेपलाई औपचारिकता दिने प्रयास भएको आरोप लगाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले देशमा देखिँदै आएको विदेशी प्रभाव अब खुला रूपमा संस्थागत गर्न खोजिएको बताएका छन् । “कुर्सीको लोभमा देश नै दाउमा राख्ने काम भइरहेको छ,” उनले भने, “विदेशी हालीमुहाली हामीले पहिल्यै महसुस गरिसकेका छौँ, अब त्यसलाई वैधानिक बनाउने तयारी हुँदैछ ।”
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम स्पष्ट रूपमा नलिई आलोचना गरेका हुन् । साम्पाङले जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै आन्दोलन चर्किएको बेला नेतृत्वले जिम्मेवारी नलिएको आरोप लगाए ।
बालेनलाई लक्षित गर्दै उनले भित्रभित्रै खेल खेल्ने र संकटको समयमा सार्वजनिक रूपमा नआउने प्रवृत्तिको आलोचना गरे । “युवालाई उक्साएर भिडन्ततर्फ धकेल्ने, ७०–८० जना हताहत हुँदा पनि देश जल्दा हेरेर बस्ने प्रवृत्ति देखियो,” साम्पाङले टिप्पणी गरे ।
उनले सरकार सञ्चालनका लागि आग्रह गर्दा समेत अग्रसर नदेखिएको भन्दै असन्तोष व्यक्त गरे । साथै, एमसीसीको विषय उठाउँदै रविलाई संकेत गर्दै साम्पाङले विदेशी एजेन्डासँग जोडिएको राजनीतिप्रति पनि प्रश्न उठाएका छन् ।
