घर र आमा दुवै गुमाएको पीडा आयोगसमक्ष पोख्दै रमेश लेखक


घर र आमा दुवै गुमाएको पीडा आयोगसमक्ष पोख्दै रमेश लेखक
  • नवकिरण
  • पौष १४, २०८२

काठमाडौं, पुस १४ – गत भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार लिखित बयान पेस गरेका छन्।

आयोगलाई बुझाएको धारणा पत्रमा लेखकले आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो पिताले बनाएको घर पूर्ण रूपमा जलेर नष्ट भएको र सो घटनाको प्रभावले आमाको निधन भएको बताएका छन्।

लेखकका अनुसार महेन्द्रनगर र काठमाडौँस्थित घरहरूमा आगजनी हुँदा आफूले अत्यन्तै गहिरो पीडा भोग्नुपरेको थियो। लिखित जवाफमा उनले उक्त पीडालाई ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भन्ने उखानसँग तुलना गरेका छन्।

उनले महेन्द्रनगरका दुवै घर पिताजीले निर्माण गरेको र काठमाडौँको घर पनि पैतृक सम्पत्तिको आर्जनबाट बनेको उल्लेख गर्दै पुर्खाले आर्जन गरेको सम्पत्ति आगोमा खरानी बन्दा असह्य पीडा महसुस भएको बताएका छन्।

घरमा आगजनी हुनुभन्दा पनि आमाको निधनले आफूलाई झनै मर्माहत बनाएको लेखकको भनाइ छ। भदौ २४ गतेको घटनाका क्रममा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन सिकिस्त बिरामी आमालाई अक्सिजन नदिई अन्यत्र सार्नुपरेको र त्यसको केही दिनपछि उनको निधन भएको उनले आयोगसमक्ष बताएका छन्।

लेखकका अनुसार आगजनीमा घरसँगै १० वर्षे सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रिया, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणसँग सम्बन्धित ऐतिहासिक टिपोट तथा कागजातहरू पनि नष्ट भएका छन्। करिब पाँच हजार पुस्तक र महत्त्वपूर्ण दस्ताबेज आगोमा जलेर नष्ट भएको उनले जानकारी दिएका छन्।

यद्यपि, लेखकले देशभर व्यापक क्षति भएको सन्दर्भ उल्लेख गर्दै आफ्नो व्यक्तिगत पीडालाई गौण रूपमा लिएको बताएका छन्।