सहमतिको १४ घण्टापछि कुलमान घिसिङको प्रतिक्रिया


सहमतिको १४ घण्टापछि कुलमान घिसिङको प्रतिक्रिया
  • नवकिरण
  • पौष १५, २०८२

काठमाडौं, पुस १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकताको सहमति भएको करिब १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। आइतबार राति करिब ८ बजे दुई दलबीच सहमति भए पनि घिसिङले मङ्गलबार मात्रै प्रतिक्रिया दिएका हुन्।

घिसिङले दुई पार्टीबीच भएको सहमति ऐतिहासिक रहेको उल्लेख गर्दै यस एकीकरणले देशको हितलाई प्राथमिकतामा राखेको दाबी गरे। पद, व्यक्तिगत स्वार्थ वा लाभभन्दा माथि उठेर जनताको चाहना र राष्ट्रको भविष्यका लागि एक ठाउँमा उभिएको उनको भनाइ छ।

उनका अनुसार यो एकीकरणले देशलाई सही दिशा र निकासतर्फ अघि बढाउने विश्वास दिलाएको छ। उज्यालो भविष्य निर्माणका लागि साझा प्रयास आवश्यक रहेको उनले बताए।

यसअघि सहमतिको तस्बिर सार्वजनिक हुँदा घिसिङको अनुहार केही मलिन देखिएको थियो। सोही कारण उनी सहमतिप्रति सन्तुष्ट छैनन् कि भन्ने अड्कलबाजी सुरु भएको थियो। तर ढिलै भए पनि आएको उनको वक्तव्यले ती आशङ्कालाई चिर्ने प्रयास गरेको छ।