काठमाडौं, पुस १५ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि पार्टीको महाधिवेशन गर्दा आन्तरिक प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने धारणा व्यक्त गरेका छन्। मंगलबार पत्रकारहरूसँगको भेटघाटमा उनले यही चिन्ताका आधारमा पार्टी नेतृत्वलाई सुझाव दिँदै आएको बताए।
देउवाले भने, महाधिवेशन अगाडि नै गर्ने निर्णय भए आफू अवरोध नबन्ने स्पष्ट पारे। “निर्वाचन नजिकिँदा महाधिवेशनले पार्टीभित्र प्रतिस्पर्धा बढ्छ भन्ने मेरो बुझाइ हो,” उनले भने, “तर गर्ने भनेर अगाडि बढ्नुभयो भने रोक्ने कुरा हुँदैन।”
१५औँ महाधिवेशनमा आफू सभापतिको प्रतिस्पर्धी नहुने देउवाको भनाइ छ। विधानअनुसार पनि उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत इच्छा पनि नभएकाले आफू तटस्थ रहेर अन्य नेतालाई प्रोत्साहन गर्ने उनले बताए।
त्यस्तै, विशेष महाधिवेशनको सम्भावनालाई उनले अस्वीकार गरे। विशेष महाधिवेशन गर्दा प्रक्रिया र विधिका विषयमा थप विवाद सिर्जना हुन सक्ने भन्दै उनले त्यसतर्फ नजाने स्पष्ट संकेत गरे। “विशेष महाधिवेशन भयो भने फेरि कसरी गर्ने, के गर्ने भन्ने अर्को झगडा सुरु हुन्छ,” देउवाले भने, “नियमित महाधिवेशन गर्नुपरे मिलेर सहमतिमा गर्न सकिन्छ।”
