काठमाडौँ, पुस १६ – नेपाली कांग्रेसले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने तयारीलाई तीव्र बनाएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई राष्ट्रप्रति जिम्मेवार र सक्षम शक्ति बनाउने लक्ष्यसहित विशेष महाधिवेशनतर्फ अघि बढिएको जानकारी दिएका हुन्।
४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न विशेष महाधिवेशन अनिवार्य बनेको उल्लेख गरे। राष्ट्र निर्माणको जिम्मेवारी बहन गर्न सक्ने कांग्रेस तयार गर्नु आजको प्रमुख दायित्व भएको उनको भनाइ छ।
थापाले कांग्रेसभित्र फरक मत र विचारलाई निषेध होइन, खुला रूपमा व्यक्त गर्ने साझा मञ्च आवश्यक रहेको बताए। उनका अनुसार भिन्न विचारलाई समेट्ने लोकतान्त्रिक अभ्यासबाटै पार्टीभित्र सच्चा एकता सम्भव हुन्छ, र अहिलेको सन्दर्भमा त्यसको माध्यम विशेष महाधिवेशन नै हो।
“राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी हो,” थापाले भनेका छन्, “त्यही जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा हामी अगाडि बढेका छौँ।”
उनले सम्पूर्ण कांग्रेसजनलाई विशेष महाधिवेशन सफल बनाउन एकताबद्ध भएर हातेमालो गर्न आग्रह पनि गरेका छन्। साथै, स्वच्छ र स्वस्थ निर्वाचन प्रतिस्पर्धामार्फत जनताको परिवर्तनको चाहना अभिव्यक्त हुन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा थापाले जोड दिए।
महामन्त्री थापाले ४९ वर्षअघि बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनको स्मरण गर्दै सबैलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना पनि व्यक्त गरेका छन्।
