काठमाडौँ, पुस १७ – पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूको खेलमैदान बनाउँदै ‘युक्रेन’ जस्तै अस्थिरतामा धकेल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक गम्भीर बहुआयामिक संकटमा फसेको उल्लेख गरेका हुन्।
खनालका अनुसार वर्तमान विश्व व्यवस्था तीव्र परिवर्तनको चरणमा छ। पश्चिमा शक्तिहरूको वर्चस्वमा आधारित पुरानो संरचना कमजोर बन्दै गएको र न्याय, समानता तथा बहुपक्षीयतामा आधारित नयाँ विश्व व्यवस्थाको उदय भइरहेको छ। उनले यस परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालजस्ता मुलुकहरूमा पनि देखिन थालेको बताए।
देशको आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै खनालले कुशासन, व्यापक भ्रष्टाचार र बढ्दो बेरोजगारीले सामाजिक–आर्थिक संकट झन् गहिरिँदै गएको बताएका छन्। विशेषगरी गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’ का नाममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले मुलुकलाई ठूलो जोखिमतर्फ धकेलेको उनको भनाइ छ। यस्ता गतिविधि देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको सुनियोजित षड्यन्त्र भएको उनले आरोप लगाए।
वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै खनालले निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया भए पनि त्यस मात्रैले देशको समस्या समाधान नहुने स्पष्ट पारे। निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनका लागि आवश्यक वातावरण र पूर्वाधार अझै पर्याप्त नभएकोप्रति उनले शंका व्यक्त गरे।
उनका अनुसार संविधानको परिमार्जन, सुशासनको सुनिश्चितता, भ्रष्टाचार नियन्त्रण तथा युवाहरूका लागि रोजगारी सिर्जना गर्ने ठोस कार्ययोजनाबिना निर्वाचनको सार्थकता हुँदैन।
खनालले १७ वटा वाम समूहहरू एकताबद्ध भई नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको स्मरण गराउँदै बाँकी रहेका सम्पूर्ण कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन आह्वान गरेका छन्।
