काठमाडौँ, पुस १८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी अघि बढेसँगै सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएपछि देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि आमन्त्रण गरेका हुन्।
कार्यवाहक सभापति खड्कानिकट स्रोतका अनुसार उनी हाल निवासमै भेटघाटमा व्यस्त छन् र केहीबेरमा सभापति देउवासँग छलफलका लागि सहभागी हुने तयारीमा छन्। केन्द्रीय कार्यसम्पादन समितिका एक नेताको सचिवालयले पनि सभापतिले शीर्ष नेताहरूलाई छलफलमा बोलाएको पुष्टि गरेको छ। स्रोतका अनुसार बैठक बिहान ९ बजेपछि तय गरिएको हो।
यसैबीच, नेपाली कांग्रेसले आज दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा १६ पुसमा तय गरिएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित अधिवेशन स्थगित भएको औपचारिक विज्ञप्ति सार्वजनिक गरेका थिए।
उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ। विशेष महाधिवेशनका पक्षधर समूहले त्यसका लागि भृकुटीमण्डपसमेत बुक गरिसकेको स्रोतले जनाएको छ।
