भेनेजुएलामा अमेरिकी आक्रमण : ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सको दाबी


भेनेजुएलामा अमेरिकी आक्रमण : ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सको दाबी
  • नवकिरण
  • पौष २०, २०८२

काठमाडौं, पुस २० – अमेरिकाले भेनेजुएलामा सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा सर्वसाधारण र सुरक्षाकर्मी गरी कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। अखबारले भेनेजुएलाका एक वरिष्ठ सरकारी अधिकारीलाई स्रोत मानेर उक्त विवरण सार्वजनिक गरेको हो।

शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न स्थानमा हवाई तथा स्थल आक्रमण गरेको थियो। सोही अपरेसनमा राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई अमेरिका पुर्‍याइएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त कारबाही पूर्ण रूपमा सफल भएको र त्यस क्रममा मानवीय क्षति नभएको दाबी गरेका छन्। तर न्युयोर्क टाइम्सको रिपोर्टमा भने मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले गरिएको आक्रमणमा ठूलो संख्यामा मानिस मारिएको उल्लेख छ।

अमेरिकी अधिकारीहरूका अनुसार भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरिएको थियो। त्यसपछि हेलिकोप्टरमार्फत सैनिक परिचालन गरी राष्ट्रपति निवास क्षेत्रमा आक्रमण गरिएको थियो।

हालसम्म ह्वाइट हाउस वा पेन्टागनले मृतक संख्या र सैन्य अपरेसनको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। अमेरिकी सेनाले भने मादुरो र उनकी पत्नीलाई शनिबार बिहानै भेनेजुएलाबाट बाहिर लगिएको पुष्टि गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सुरक्षित र व्यवस्थित सत्ता हस्तान्तरण नभएसम्म अमेरिका प्रशासनिक जिम्मेवारीमा रहने बताएका छन्। यसबीच उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्।

उता, न्युयोर्कको दक्षिणी जिल्ला संघीय अभियोजक कार्यालयले मादुरो र फ्लोरेसविरुद्ध लागुऔषध तस्करीलगायतका आपराधिक अभियोग दर्ता गरेको छ।

अमेरिकाको यो कदमप्रति अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचना भइरहेको छ। विश्लेषकहरूले यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्नुका साथै भेनेजुएलासहित समग्र क्षेत्रमा अस्थिरता बढाउने जोखिम रहेको बताएका छन्।