संघीयता र समावेशितामा सहमति नजुट्दा रवि–कुलमान एकता अलमलमा


संघीयता र समावेशितामा सहमति नजुट्दा रवि–कुलमान एकता अलमलमा
  • नवकिरण
  • पौष २५, २०८२

काठमाडौँ, पुस २५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच प्रस्तावित एकता प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन । संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता सैद्धान्तिक विषयमा लिखित सहमति नहुँदा एकता कार्यान्वयनमा ढिलाइ भएको हो ।

पुस १४ गते एकता गर्ने सहमति भए पनि त्यसपछि भएको छलफलले ठोस निष्कर्ष दिन सकेको छैन । शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच बुढानीलकण्ठमा भएको भेटवार्तामा यी विषयमा पुनः छलफल भए पनि सहमति जुट्न नसकेको जनाइएको छ ।

उज्यालो नेपाल पार्टीले संघीयता, धर्मनिरपेक्षता र समावेशिताको विषयमा स्पष्ट र लिखित प्रतिबद्धता आवश्यक हुने अडान राख्दै आएको छ । कुलमान पक्षका अनुसार मौखिक सहमति भए पनि नीतिगत विषयमा हस्ताक्षरसहितको सम्झौतामा रास्वपा पक्ष अझै तयार देखिएको छैन ।

एकता पश्चात् रास्वपाको केन्द्रीय समितिमा सम्मानजनक सहभागिता, समानुपातिक सूची संशोधन र प्रत्यक्ष निर्वाचनमा उम्मेदवारीका विषयलाई प्याकेजमा टुंग्याउनुपर्ने उज्यालो पक्षको माग छ । केन्द्रीय सदस्य संख्या र सूची व्यवस्थापनमा सहमति नजुट्दा एकता प्रक्रिया थप जटिल बनेको स्रोत बताउँछन् ।

यसअघि रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको सहमतिअनुसार केन्द्रीय समितिमा २६ सदस्य थपिसकेको भए पनि उज्यालो नेपाल पार्टीबाट अहिलेसम्म कसैलाई समेटिएको छैन । समानुपातिक सूचीका विषयमा पनि मतभेद कायमै रहेकाले दुई पार्टीबीचको एकता अझै अन्योलमा परेको देखिन्छ ।