काठमाडौं, पुस २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनता कुनै पनि भगौडा नेताको पछि नलाग्ने बताएका छन्। रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेपछि त्यहाँको जनमत कमजोर हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको प्रचण्डले स्वीकार गरे। तर सभामा देखिएको उपस्थितिले ती सबै आशंका गलत सावित भएको उनले बताए।
केही नेताहरू योजनाबद्ध रूपमा विचलित गराएर पार्टीबाट बाहिरिएको दाबी गर्दै प्रचण्डले यसका पछाडि ठूलो षड्यन्त्र रहेको आरोप लगाए। उनले ती नेताहरू कम्युनिस्ट र मार्क्सवादी विचारधाराबाट टाढा गएको उल्लेख गरे।
पहिले जस्तो सभा सफल नहुने हो कि भन्ने आशंका भए पनि रुकुम पुग्दा जनताको समर्थन देखेर आफू उत्साहित भएको प्रचण्डको भनाइ थियो। उनले रुकुमका जनता सचेत र दृढ रहेको बताए।
जनार्दनको नामै लिएर बोल्दै प्रचण्डले अब रुकुममा अझ बढी सक्रिय रहने बताए।
