५ सयभन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा समाहित


५ सयभन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा समाहित
  • नवकिरण
  • पौष २९, २०८२

सर्लाही, पुस २९ – विभिन्न राजनीतिक दल परित्याग गर्दै राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दन्त रोग विशेषज्ञ डा. साकिल अहमदलगायत ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।

सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित वृहत् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवप्रवेशीहरूलाई खादा ओढाएर र पार्टीको टोपी लगाइदिँदै औपचारिक रूपमा स्वागत गरे।

कार्यक्रममा बोल्दै नवप्रवेशी नेता त्रिभुवन कुमार सिंहले अध्यक्ष घिसिङको कार्यशैली, नेतृत्व क्षमता र परिणाममुखी निर्णयबाट आफू प्रभावित भएको बताए। नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकका रूपमा रहँदा घिसिङले देखाएको कार्यक्षमता तथा पछिल्लो समय सरकारमा रहँदा प्रस्तुत गरेको प्रदर्शनले उनलाई भरोसायोग्य नेताको रूपमा स्थापित गरेको सिंहको भनाइ थियो।

उनले उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको उल्लेख गर्दै आफ्ना राजनीतिक गतिविधि अब यही पार्टीमार्फत अघि बढाउने निर्णय गरेको स्पष्ट पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी व्यक्तिकेन्द्रित राजनीति नभई प्रणाली सुधार र जनताको सेवा गर्ने उद्देश्यका साथ अघि बढेको राजनीतिक शक्ति भएको बताए। नयाँ नेता तथा कार्यकर्ताको प्रवेशसँगै देश परिवर्तनको अभियान अझ सशक्त बन्दै जाने विश्वास उनले व्यक्त गरे।