सेफ जोनमै चुनौती: झापा–५ मा कसले मार्ला बाजी ?


सेफ जोनमै चुनौती: झापा–५ मा कसले मार्ला बाजी ?
  • नवकिरण
  • पौष २९, २०८२

झापा, पुस २९ – प्रतिनिधि सभा निर्वाचन क्षेत्र झापा–५ पछिल्लो समय राजनीतिक बहसको केन्द्रमा परेको छ। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह उम्मेदवार बन्ने चर्चाले स्थानीयदेखि राष्ट्रिय तहसम्म चासो बढाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई भावी नेतृत्वको प्रतीकका रूपमा अघि सारेको भए पनि झापा–५ बाट उम्मेदवारी दिने विषयमा अन्तिम निर्णय सार्वजनिक भइसकेको छैन। यद्यपि, ओलीको बलियो क्षेत्रमै प्रतिस्पर्धा गर्ने सम्भावनालाई राजनीतिक ‘सिँगौरी खेल’का रूपमा हेरिएको छ।

झापा–५ ओलीको सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ। लामो समयदेखि यही क्षेत्रको प्रतिनिधित्व गर्दै आएका ओलीले विकास र संगठन दुवै पक्षमा गहिरो प्रभाव जमाएको एमाले नेताहरूको दाबी छ।

यसैबीच, बालेनको सम्भावित आगमनले नयाँ पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्ने चर्चा छ। विशेषगरी युवामाझ उनको लोकप्रियताले चुनावी समीकरण बदल्न सक्ने अनुमान गरिएको छ।

यदि यो भिडन्त वास्तविक बन्यो भने झापा–५ को निर्वाचन पुरानो राजनीतिक संरचना र नयाँ राजनीतिक धारबिचको निर्णायक परीक्षा बन्नेछ। मतदाताको फैसला कसतर्फ जाने भन्नेमा सबैको नजर केन्द्रित भएको छ।