पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि पोखराको अमरसिंहचौरमा सुरु भएको छ। महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुनेछ। क्लबले विगतदेखि नै महोत्सवबाट संकलित रकम शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनमा खर्च गर्दै आएको जनाएको छ।
क्लबका अध्यक्ष लोकबहादुर थापाका अनुसार यस वर्षको महोत्सवबाट पोखरा–२७ अर्चलेस्थित क्लबको आफ्नै जग्गामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निःशुल्क आवासीय छात्रावास निर्माण गर्ने लक्ष्य राखिएको छ। सो योजनाअनुसार तयार गरिएको डिपिआरका आधारमा निर्माण प्रक्रिया अगाडि बढिसकेको पनि उनले बताए।

क्लबका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले सो स्थानमा २० कोठाको भवन निर्माण गरिने जानकारी दिए। यस वर्ष तीन कोठाको भवन निर्माण भइसकेको र महोत्सवबाट हुने आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक सत्रदेखि छात्रावास सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।
यसैगरी महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालि बेटर मुख्य प्रायोजक रहेको यस संस्करणमा विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता र टिकटक प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग, व्यापार, कृषि उत्पादन, हस्तकला, पर्यटन सेवा र नयाँ प्रविधिसम्बन्धी स्टलहरू रहनेछन्। यसले स्थानीय उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शनी तथा बिक्री गर्ने अवसर दिने र बजार विस्तार तथा व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको भनाइ छ।
महोत्सवको प्रचारप्रसारका लागि निकालिएको र्यालीमा तल्लो नयाँगाउँ टोल विकास संस्था, जन जागृति आमा समुह, श्री हिमाल आमा समुह, श्री मिजुरेडाँडा गहते गुरुङ समाज कास्की, हस्पिटलचोक टोल विकास संस्था, तनहुँ तमु समाज, बागलुङ, नारायणस्थान पोखरा सम्पर्क समाजलगायत विभिन्न संघसंस्था र समुदायको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस र्यालीले महोत्सवप्रति जनचासो र उत्साह बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, लोकनृत्य, लाइभ संगीत तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि समावेश गरिनेछन्। सुरक्षाको उचित व्यवस्था, पार्किङ, सरसफाइ र आगन्तुकको सुविधालाई प्राथमिकतामा राखेर सबै तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ।
