कांग्रेस सभापतिमा गगन एक्ला उम्मेदवार


कांग्रेस सभापतिमा गगन एक्ला उम्मेदवार
  • नवकिरण
  • पौष ३०, २०८२

काठमाडौं, पुस ३० – नेपाली कांग्रेसको सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ। पुस ३० गते बिहान ११ बजेसम्म सम्पन्न मनोनयन दर्ता अनुसार सभापति पदमा थापाबाहेक अरू कसैको उम्मेदवारी नपरेको एक कांग्रेस नेताले जानकारी दिए।

त्यसैगरी, महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी दर्ता भएको छ। सहमहामन्त्री पदमा भने बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेस विधानअनुसार पार्टीमा आठ जना सहमहामन्त्री रहने व्यवस्था छ।

निर्वाचन समितिले कुन–कुन पदमा कस–कसको उम्मेदवारी परेको हो भन्ने विस्तृत विवरण दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार मनोनयन फाराम वितरण तथा दर्ताको सम्पूर्ण प्रक्रिया बिहान ११ बजे सम्पन्न भएको हो।

‘सबै पदमा उम्मेदवारी परेको छ। उम्मेदवारहरूको नामावली दिउँसो १ बजे सार्वजनिक गरिनेछ,’ केसीले भने, ‘सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयास पनि जारी छ, तर त्यो राजनीतिक तहको विषय हो।’

उम्मेदवारी दर्ताका लागि सभापति पदमा ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्री पदका लागि समान रूपमा २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ।

मनोनयन फाराम लिँदा शुल्क नलाग्ने भए पनि उम्मेदवारी दर्ताका बेला भने सम्बन्धित दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।