थापा नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरु


थापा नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरु
  • नवकिरण
  • माघ १, २०८२

काठमाडौँ, माघ १ – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ। गगन थापाको नेतृत्वमा गठन भएको केन्द्रीय कार्यसमितिको यो पहिलो औपचारिक बैठक हो।

सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार हाल बैठक जारी रहेको छ। विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो।

काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा नयाँ नेतृत्व चयन गरेको हो। नयाँ कार्यसमिति गठनसँगै पार्टीभित्र आन्तरिक विवाद चुलिँदै कांग्रेस विभाजनको अवस्थामा पुगेको छ।

यता, संस्थापन पक्षले बुधबार नै केन्द्रीय कार्यसमिति बैठक बसेर दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि अनुशासन उल्लंघनको आरोप लगाउँदै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको निर्णय सार्वजनिक गरेको छ।