बालेनले खोल्दै नयाँ अध्याय, महानगर नेतृत्व अन्योलमा


बालेनले खोल्दै नयाँ अध्याय, महानगर नेतृत्व अन्योलमा
  • नवकिरण
  • माघ ४, २०८२

काठमाडौं, माघ ४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेसँगै आजै पदबाट राजीनामा दिने वा नदिने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।

संघीय सांसद पदका लागि उम्मेदवारी दिन स्थानीय तहको प्रमुख पदबाट तत्काल राजीनामा दिनैपर्ने कानुनी बाध्यता नरहेको बुझाइपछि मेयर शाह अहिले निर्णयको दोधारमा रहेको उनको सचिवालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार संघीय संसदको निर्वाचनमा उम्मेदवार निर्वाचित भए मात्रै हालको पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेकाले त्यसबारे थप छलफल भइरहेको हो।

यसैबीच मेयर शाह आज आइतबार दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय ‘घन्टीघर’ पुग्ने कार्यक्रम तय भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार त्यहीँ उनलाई औपचारिक रूपमा स्वागत गरिनेछ।

रास्वपाका सभापति रवि लामिछाने र मेयर शाह आज साँझ ५ बजे बुद्ध एयरको उडानमार्फत जनकपुर प्रस्थान गर्ने कार्यक्रमसमेत रहेको छ।

मेयर शाहलाई रास्वपाले वरिष्ठ नेताको जिम्मेवारी दिएको भए पनि उनले हालसम्म औपचारिक शपथ भने लिएका छैनन्।

रास्वपाले भोलि जनकपुरमा आयोजना गर्न लागेको कार्यक्रममा सभापति लामिछाने र मेयर शाह प्रमुख वक्ताका रूपमा सहभागी हुने पार्टीले जनाएको छ।