काठमाडौँ, माघ ६ – वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
न्यायाधीश रुद्र सुवेदीको इजलासले मंगलबार थुनछेक बहस सम्पन्न गरेपछि धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतमा बयानपछि धरौटी माग गर्ने आदेश भएको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए। उनका अनुसार धरौटी रकम बुझाएमा लामिछाने रिहा हुनेछन्, नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्नेछ।
लामिछाने मंगलबार जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए। यसअघि जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा उनीविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै जेठ ३० गते मुद्दा दर्ता गरेको थियो।
अभियोगपत्रमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क) र (ग) अनुसार थप सजायको माग पनि गरिएको छ। सहकारी रकम अपचलनको अनुसन्धान सकेपछि पर्सा प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो।
अनुसन्धानका क्रममा सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ हजार रुपैयाँ स्थानान्तरण भएको पाइएको छ।
