बुटवल, माघ ७ – डा. निकोलस भुसाल (कमल भुसाल) ले रूपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएको जानकारी दिए।
जुत्ता चुनाव चिह्नसहित चुनावी मैदानमा उत्रिएका भुसालले राजनीतिक दलहरूले युवासँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा नराखेकाले स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि बढेको बताए। उनका अनुसार जनताको वास्तविक एजेन्डा बोकेर संसद्मा पुग्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको हो।
उनले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका माग सम्बोधन, प्रदेश संरचना खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, साथै विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था जस्ता विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
सरकारविरुद्ध काठमाडौँमा हुने आन्दोलनका क्रममा उत्तेजक अभिव्यक्ति दिएको आरोपमा आफू पक्राउ समेत परेको स्मरण गर्दै भुसालले ती आन्दोलनबाट उठेका मागहरूलाई यसपटकको निर्वाचनमा पनि निरन्तरता दिने बताए।
स्थानीय स्तरमा लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने, ज्योतीनगर क्षेत्रमा पहिरो नियन्त्रण, तिनाउ खोलामा फालिने बुटवलको फोहोरलाई व्यवस्थापन गर्दै मोहरमा रूपान्तरण गर्ने तथा पहाडी जिल्लामा उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने विषयलाई समेत उनले चुनावी प्रतिबद्धतामा समेटेका छन्।
भुसालले विभिन्न राजनीतिक दलबाट उम्मेदवारीका लागि प्रस्ताव आए पनि दलगत सीमाभित्र रहेरभन्दा स्वतन्त्र रूपमा उम्मेदवार बन्ने निर्णय गरेको बताए। यसअघि २०७९ सालको निर्वाचनमा पनि उनले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
