गोरखा–२ मा बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह, प्रचण्डले पनि गरे फोन


गोरखा–२ मा बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह, प्रचण्डले पनि गरे फोन
  • नवकिरण
  • माघ ९, २०८२

काठमाडौं, माघ ९ – गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको छ।

रास्वपाले उक्त क्षेत्रमा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवारका रूपमा अघि सारेको छ। बुर्लाकोटी यसअघि पनि यही निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए, तर तत्कालीन उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए। यसपटक भने प्रचण्डले गोरखा–२ छाडेर अर्को निर्वाचन क्षेत्र रोजेका छन्।

यसै सन्दर्भमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले डा. भट्टराईसँग संवाद गर्दै फागुन २१ मा हुने निर्वाचनलाई ध्यानमा राखी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। वाग्लेले भट्टराईले उम्मेदवारी फिर्ता लिएर आगामी दिनमा राज्य सञ्चालन र सुशासनका विषयमा रास्वपालाई सहयोग गर्न सक्ने धारणा व्यक्त गरेका छन्।

उनले पूर्वप्रधानमन्त्रीको अनुभव र हैसियतले भट्टराईले पार्टीलाई मार्गदर्शन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वाससमेत व्यक्त गरेका छन्। साथै, निर्वाचनपछि रास्वपाको नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको प्रशासनिक व्यवस्थापन, सुशासन र विकासका सवालमा भट्टराईको अनुभव महत्वपूर्ण हुने उल्लेख गरेका छन्।

स्रोतका अनुसार, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि डा. भट्टराईलाई टेलिफोनमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।