काठमाडौं, माघ १० – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले राष्ट्रिय भेला आयोजना गर्ने तयारी थालेको छ। विशेष महाधिवेशनबाट अलग्गिएको यो समूह ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने रणनीतिमा जुटेको हो।
भेलाको तयारीका विषयमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले समूहका नेता–कार्यकर्तासँग छलफलमा छन्। शनिबार खड्कासँग भेट गरेका एक पूर्वकेन्द्रीय सदस्यका अनुसार पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्थाबारे साझा धारणा बनाउन र आगामी कदम तय गर्न भेला आवश्यक ठानिएको हो।
उनका अनुसार पुसमा सम्पन्न विशेष महाधिवेशनपछिको आन्तरिक परिस्थिति र त्यसअघिका घटनाक्रमबारे समूहका नेता–कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले भेला गर्न लागिएको हो।
‘राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने तयारी छ। आज बिहान कार्यवाहक सभापतिसँग यसबारे छलफल भएको थियो,’ उनले भने, ‘सबैलाई एउटा स्पष्ट सन्देश दिनुपर्ने अवस्था छ।’
यद्यपि, राष्ट्रिय भेलाको मिति र स्थान भने अझै टुंगो लागिनसकेको उनले बताए। कार्यवाहक सभापति खड्का हाल परामर्शकै प्रक्रियामा रहेको उनको भनाइ छ।
देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई औपचारिक रूपमा स्वीकार गरेको छैन। निर्वाचन आयोगले उक्त कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
तर सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोगसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। न्यायाधीश सुनिल पोखरेलको इजलासले ६ माघमा उक्त आदेश जारी गरेको हो।
यसअघि, विशेष महाधिवेशन हुनुअघि कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।
