काठमाडौं, माघ १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाल उदाएका नयाँ राजनीतिक दलहरूको भविष्य स्पष्ट नरहेको टिप्पणी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नयाँ दलहरूको यात्राबारे शंका व्यक्त गरे। उनले नारायणगोपालको गीत सम्झिँदै भने, “भोलि कहाँ जाने, फर्केर आउने कि नआउने—केही ठेगान छैन। नयाँ दलहरूको अवस्था पनि त्यस्तै देखिन्छ।”
ओलीले आफूले नयाँ दलका एक नेताको सामाजिक सञ्जाल पोस्ट देखेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए। उक्त पोस्टमा आफूलाई ‘मोटोमुनि गाडिदिनुपर्छ’ भन्ने अभिव्यक्ति आएको भन्दै उनले यस्तो सोच र प्रवृत्तिले उनीहरूको राजनीतिक स्तर देखाउने बताए।
उनले अहिले देश ‘बनाउने र भत्काउने’ शक्तिहरूबीच संघर्ष चलिरहेको दाबी गरे। “मानिसलाई जिउँदै गाड्ने जस्तो अमानवीय सोच देखिन्छ। यही कारण देश बनाउने र जलाउनेबीचको लडाइँ भइरहेको छ,” ओलीले भने, “हामी देश निर्माणको पक्षमा उभिनुपर्छ।”
