बहुमत सिट जित्न ओलीको अपिल, पार्टी सदस्यहरूलाई चुनावी अभियानमा सक्रिय हुन आग्रह


बहुमत सिट जित्न ओलीको अपिल, पार्टी सदस्यहरूलाई चुनावी अभियानमा सक्रिय हुन आग्रह
  • नवकिरण
  • माघ ११, २०८२

काठमाडौं, माघ ११ – नेकपा एमालेले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी सदस्यहरूलाई सक्रिय भूमिकामा उत्रन आह्वान गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्रमार्फत एमालेले बहुमत सिट हासिल गर्न सबै सदस्यको समर्पित प्रयास आवश्यक रहेको जनाएको हो।

पत्रमा अध्यक्ष ओलीले देश निर्माणका लागि पार्टीलाई स्पष्ट बहुमत अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूको विजय सुनिश्चित गर्न उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। ‘बहुमत प्राप्ति हाम्रो साझा लक्ष्य हो, त्यसका लागि सबै कमरेडहरूको सक्रिय सहयोग अपेक्षित छ,’ पत्रमा भनिएको छ।

पार्टी नेताहरूका अनुसार उक्त पत्र करिब ६ लाख ६३ हजार पार्टी सदस्यहरूलाई पठाइएको छ। एमाले प्रचार विभाग संयोजक मीनबहादुर शाहीले यो अपिल पार्टी सदस्यहरूमा मात्र सीमित नभई आम मतदातासम्म सन्देश पुर्‍याउने उद्देश्यले गरिएको बताए।

उनका अनुसार पत्रमार्फत पार्टीले निर्वाचनमा आफ्नो संगठनात्मक शक्ति र जनसमर्थन एकीकृत गर्ने प्रयास गरेको छ।