काठमाडौं, माघ १३ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिमा सिद्धान्त र विचार कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (एकता पक्षधर) बीचको कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा देखावटी गतिविधि गरेर जनतालाई प्रभावित पार्ने प्रवृत्ति हावी हुँदै गएको बताए।
‘घण्टी बजाउँदैमा राजनीति चल्दैन,’ प्रचण्डले भने, ‘आज विचार र सिद्धान्तको अभाव छ। सोसल मिडियामा स्टन्ट देखाएर जनताको दिमाग चाट्ने काम भइरहेको छ।’
उनले यस्ता प्रवृत्तिले दीर्घकालीन राजनीतिक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै वामपन्थी शक्तिहरूलाई आपसी मतभेद भुलेर एकताबद्ध हुन आग्रह गरे। सबै वाम धारहरू एकजुट भएर अघि बढे मात्रै देशको राजनीतिक दिशा सही बाटोमा जान सक्ने उनको भनाइ थियो।
