काठमाडौं, माघ १५ – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपचारका लागि अस्पताल भर्ना भएका छन्। रुघा, खोकी र ज्वरोसँगै सास फेर्न समस्या देखिएपछि उनी बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए।
शिक्षण अस्पतालमा क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारेर भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। यद्यपि, उनको उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकको टोलीले गरिरहेको छ।
अस्पतालका अनुसार नेता नेपाललाई घ्यार–घ्यार हुने समस्या समेत देखिएको छ र चिकित्सकको निगरानीमा उपचार जारी छ। हाल उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण भइरहेको बताइएको छ।
बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न नेताहरू अस्पताल पुगेका थिए।
