काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन्। धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी सभामा उनले यो जानकारी दिएका हुन्।
गगन थापाले अहिले पार्टीभित्र नेताहरूबीच कुनै मतभेद नभएको र सबै एकजुट भएर निर्वाचनतर्फ अघि बढिरहेको बताए। उनले भने, “हामीबीच केही कुरामा मतभेद हुन सक्छ, तर अन्तिममा हामी सधैं एक ढिक्का हुन्छौँ। अहिले पार्टी पूर्ण रूपमा एकजुट छ।”
उनले भदौ २३–२४ को जेनजी आन्दोलनलाई देश सञ्चालनको वर्तमान शैलीविरुद्ध भएको घटनाका रूपमा उल्लेख गर्दै, कांग्रेसले आफूलाई सुधार गरेर आएको बताए। थापाले भने, “फागुन २१ को निर्वाचन आकस्मिक होइन, योजनाबद्ध हो। भदौका घटनाहरू पनि अकस्मात थिए, जसले देशको व्यवस्थामा परिवर्तन आवश्यक रहेको देखायो।”
नेतृत्व परिवर्तनपछि कांग्रेसले आफ्नो सोच र कार्यशैलीमा सुधार ल्याएको पनि गगन थापाले बताए। उनले अरु पार्टीहरूले कसरी परिवर्तन गरे भन्ने स्पष्ट नभए पनि, कांग्रेसले आफूलाई नयाँ विचार र दृष्टिकोणसहित अघि बढाएको बताए।
आजको दिनमा नयाँ नेतृत्वसहितको नेपाली कांग्रेस माघमा सम्पन्न अधिवेशनपछि निर्वाचनतर्फ पूर्ण रूपमा एकजुट र सक्रिय भएको देखिन्छ। पार्टीका नेताहरू सबैले मिलेर आगामी चुनावमा जनताको विश्वास जित्ने लक्ष्य राखेको उनले बताए।
