प्रदेश र स्थानीय निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन सम्पन्न हुन्छ : सभापति थापा


प्रदेश र स्थानीय निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन सम्पन्न हुन्छ : सभापति थापा
  • नवकिरण
  • माघ १७, २०८२

काठमाडौं, माघ १७ – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनभन्दा अगावै पार्टीको नियमित महाधिवेशन सम्पन्न हुने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का पार्टी कार्यकर्तासँगको भेटघाटमा बोल्दै सभापति थापाले महाधिवेशनपछि कांग्रेसमा टिकट वितरण प्रणाली नै परिवर्तन हुने बताए। उनका अनुसार अब उम्मेदवार छनोटको प्रक्रिया तल्लो तहबाट सुरु हुनेछ र वडास्तरका कार्यकर्ताले नै प्राइमरीमार्फत टिकट छान्ने व्यवस्था लागू गरिनेछ।

प्रदेशको टिकट पाउन पार्टीका शीर्ष नेताको घर धाउनुपर्ने परिपाटी अन्त्य हुने उल्लेख गर्दै उनले भने, “अब कसैले पनि सभापति वा महामन्त्रीको घरमा धाउनुपर्ने अवस्था रहँदैन।”

पार्टीभित्र गुटबन्दी नरहेको दाबी गर्दै थापाले विगतमा देखिँदै आएको ६०/४० को भागबण्डाको राजनीति पूर्ण रूपमा समाप्त भएको बताए। कांग्रेसले अब पार्टीभित्र मात्र होइन, बाहिर पनि कुनै प्रकारको भागबण्डा नगर्ने नीति लिएको उनको भनाइ थियो।

सबैलाई समान व्यवहार गर्दै पार्टी सञ्चालन गरिने उल्लेख गर्दै उनले नागरिक र पार्टीलाई सशक्त बनाउने अभियान कांग्रेसभित्र सुरु भइसकेको बताए। “यो बदलिँदो कांग्रेस हो,” उनले भने, “अँध्यारो कोठामा सीमित निर्णय गर्ने परम्परा अब अन्त्य भएको छ।”

सभापति थापाले परिवर्तनको बाटोमा अघि बढेको कांग्रेसले अब देश परिवर्तन गर्ने संकल्पका साथ अगाडि बढिरहेको पनि बताए।