महेन्द्रनगर, माघ १९ – जेनजी आन्दोलनका क्रममा आगजनी भएर पूर्णरूपमा नष्ट भएको कञ्चनपुरस्थित पुर्खौली घरमा पूर्वगृहमन्त्री रमेश लेखक पाँच महिनापछि पुगेका छन् । उनी सोमबार बिहान बेदकोट नगरपालिका–८ स्थित आफ्नो पुर्खौली घर पुगेका हुन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गर्दा लेखकको पुर्खौली घर जलेर ध्वस्त भएको थियो । सोमबार घर पुगेका लेखकले जलेको घरको अवस्थाबारे स्थलगत अवलोकन गर्दै क्षतिको जानकारी लिएका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेस नेता लेखकले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् । भेटघाटका क्रममा स्थानीयले सडक पूर्वाधारसहित विकासका विषयमा ध्यानाकर्षण गराएका थिए ।
हाल लेखकले महेन्द्रनगर बजारमा रहेको घर मर्मत गरी बसोबास गर्दै आएका छन् । काठमाडौँको नैकापस्थित उनको घरसमेत बेदकोट–८ को पुर्खौली घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भई गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । नेपाली कांग्रेसले उक्त क्षेत्रमा पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् ।
