झापामा निर्वाचन आचारसंहिता कडाइ, गोप्य प्रश्न सोध्न निषेध


झापामा निर्वाचन आचारसंहिता कडाइ, गोप्य प्रश्न सोध्न निषेध
  • नवकिरण
  • माघ १९, २०८२

झापा, माघ १९ – जिल्ला प्रशासन कार्यालय झापाले मतदातासँग निर्वाचनसम्बन्धी गोप्य प्रश्न सोध्ने कार्यमा प्रतिबन्ध लगाएको छ। निर्वाचनको समयमा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने विषयमा प्रश्न गर्नु आचारसंहिता विपरीत हुने भन्दै प्रशासनले कडाइ गर्ने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंद्वारा जारी विज्ञप्तिमा फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमार्फत केही अनलाइन सञ्चार माध्यमले मतदाताको गोपनीयता भंग गर्ने गतिविधि गरिरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

प्रशासनका अनुसार यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) अनुसार स्पष्ट रूपमा उल्लंघन हो। विज्ञप्ति जारी भएपछि पनि कसैले यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

मतदानको स्वतन्त्रता र गोपनीयता संरक्षण गर्न सबै सञ्चार माध्यम, राजनीतिक दल तथा सरोकारवाला निकायलाई आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको छ।