रौतहट–४ मा रास्वपाका गणेश पौडेलको चुनावी एजेन्डा: शिक्षा सुधार


रौतहट–४ मा रास्वपाका गणेश पौडेलको चुनावी एजेन्डा: शिक्षा सुधार
  • नवकिरण
  • माघ १९, २०८२

रौतहट, माघ १९ – रौतहट–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश पौडेलले शिक्षा सुधारलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउँदै निर्वाचन अभियानलाई तीव्र बनाएका छन्। दुई विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका पौडेल लामो समयदेखि शिक्षा क्षेत्रमै क्रियाशील रहँदै आएका व्यक्ति हुन्।

शिक्षक पेशामा प्रवेश गर्नुअघि नै आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको उनको पृष्ठभूमि छ। शिक्षालाई सामाजिक रूपान्तरणको आधार मान्ने पौडेलले प्रारम्भिक समयदेखि नै विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्‍याउँदै आएको स्थानीयको भनाइ छ।

१८ वर्षभन्दा बढी समय शिक्षण क्षेत्रमा बिताएका पौडेलले विद्यालय तहदेखि उच्च शिक्षासम्मका संरचनागत समस्या नजिकबाट अनुभव गरेका छन्। पाठ्यक्रमको प्रभावकारिता, शिक्षक व्यवस्थापन, शैक्षिक पूर्वाधार, विद्यार्थीको पहुँच र शिक्षाको गुणस्तरमा देखिएका चुनौतीहरू प्रत्यक्ष रूपमा बुझेका कारण शिक्षा सुधारलाई उनले आफ्नो राजनीतिक यात्राको केन्द्रीय मुद्दा बनाएका हुन्।

हाल पौडेल रौतहट–४ का विभिन्न स्थानमा पुगेर घरदैलो अभियान, अन्तरक्रिया र जनसंवादमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। अभियानका क्रममा उनले दीर्घकालीन शैक्षिक नीति निर्माण, स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम विकास, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र शिक्षक–विद्यार्थीमैत्री वातावरण सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघीय संसद सदस्य बनेपछि रौतहटको शिक्षा प्रणालीमा गुणात्मक र दिगो परिवर्तन ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै पौडेलले शिक्षा, नैतिकता र अवसरको समान पहुँचले मात्र समुन्नत समाज निर्माण सम्भव हुने धारणा राखेका छन्। शिक्षामा गरिएको लगानी नै देशको भविष्य सुरक्षित गर्ने आधार भएको उनको भनाइ छ।

शिक्षासँग जोडिएको लामो अनुभव, सरल स्वभाव र स्पष्ट दृष्टिकोणका कारण स्थानीय मतदातामाझ पौडेलप्रति सकारात्मक उत्साह बढ्दै गएको देखिन्छ। शिक्षालाई राजनीतिभन्दा माथि राखेर काम गर्ने उम्मेदवारको रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा उनी रहेका छन्।