सुकुम्वासी समस्या समाधान मानवीय र कानुनी आधारमा हुन्छ : बालेन शाह


सुकुम्वासी समस्या समाधान मानवीय र कानुनी आधारमा हुन्छ : बालेन शाह
  • नवकिरण
  • माघ २०, २०८२

काठमाडौँ, माघ २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्वासी बस्तीमा पुगेर स्थानीयलाई न्याय दिलाइने आश्वासन दिएका छन्। मंगलबार भएको छलफलमा स्थानीयले लामो समयदेखि जग्गाधनी पुर्जा नपाएको गुनासो राखेका थिए।

स्थानीयका गुनासा सुनेपछि बालेनले सुकुम्वासी समस्या राजनीतिक स्वार्थको विषय बन्न नहुने बताएका छन्। उनले काठमाडौँका खोला किनारमा रहेका जोखिमयुक्त बस्ती र झापाका परम्परागत सुकुम्वासी बस्तीबीच स्पष्ट भिन्नता रहेको उल्लेख गर्दै वास्तविक सुकुम्वासीलाई राज्यले संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले सुकुम्वासीको नाममा चल्दै आएको पहुँच र प्रभावको खेल अन्त्य गर्नुपर्नेमा जोड दिए। पुर्जा वितरण निष्पक्ष नहुँदा वास्तविक पीडितहरू अझै समस्यामा परेको भन्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने बताए।

कसैलाई विस्थापन गर्नु अघि सुरक्षित बसोबास र वैकल्पिक व्यवस्थाको सुनिश्चितता आवश्यक रहेको उनको भनाइ थियो। साथै, आगामी दिनमा भूमि आयोगलाई पारदर्शी बनाइ वास्तविक सुकुम्वासीले मात्र जग्गाधनी पुर्जा पाउने व्यवस्था गरिने उनले बताए।