महामन्त्री पौडेलको दाबी : काठमाडौं–५ मा जनसमर्थन उत्साहजनक


महामन्त्री पौडेलको दाबी : काठमाडौं–५ मा जनसमर्थन उत्साहजनक
  • नवकिरण
  • माघ २०, २०८२

काठमाडौं, माघ २० – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ का मतदाताबाट सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाइरहेको बताएका छन्।

बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले आफू सांसद रहँदा गरेका विकासका कामका आधारमा मतदाताले विश्वास व्यक्त गरेको बताए। मतदाताहरूले ‘तपाईंलाई नै मतदान गर्छौं, तपाईं जत्तिको विकल्प अरू देख्दैनौं’ भन्ने प्रतिक्रिया दिएको उनको भनाइ थियो।

आफू सांसद रहँदा विष्णुमति करिडोरको रेखांकन गरी सडक निर्माणको प्रक्रिया अघि बढाइएको र अहिले पनि सो काम निरन्तर रूपमा अगाडि बढिरहेको उनले बताए। साथै, रिङ रोडको अव्यवस्थित अवस्था सुधारका लागि पहल गरिएको र हाल ती क्षेत्रमा तीव्र गतिमा काम भइरहेको पनि उनले उल्लेख गरे।

महामन्त्री पौडेलका अनुसार मेलम्ची खानेपानी आयोजनाका क्रममा रिङ रोडभित्र पाइप चुहावटका कारण देखिएको समस्यालाई आफ्नै पहलमा समाधान गरिएको थियो। यसका साथै सडकको जीर्ण अवस्था सुधार गर्न समेत प्रयास गरिएको उनले बताए।

मेलम्ची आयोजनाअन्तर्गतको खानेपानी रिङ रोडबाहिर समेत वितरण गर्ने व्यवस्था मिलाइएको र त्यसको परिणामस्वरूप हाल बूढानीलकण्ठ र टोखा नगरपालिकामा धारा जडान भई पानी वितरण भइरहेको पौडेलले जानकारी दिए।

उनले भने, “हामी आएपछि निरन्तर पैरवी गरेर रिङ रोडबाहिर पनि पानी पुर्‍याउन सफल भएका हौं। हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री रहँदा यो प्रक्रिया सम्भव भएको हो।”

यद्यपि, आफूले सांसदका रूपमा गरेका धेरै कामहरूको पर्याप्त प्रचार हुन नसकेको स्वीकार गर्दै महामन्त्री पौडेलले अब ती उपलब्धिहरू मतदातामाझ पुर्‍याउन आवश्यक रहेको बताए।