काठमाडौं, माघ २२ – झापाको कमल गाउँपालिका–२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। बुधबार मध्यराति कार्यालयको झ्यालको सिसा फुटाइएको हो।
घटनाको जानकारी कमल गाउँपालिका रास्वपाका सभापति केदार चापागाईंले दिएका छन्। उनका अनुसार अज्ञात व्यक्तिले रातिको समयमा कार्यालयको झ्याल तोडफोड गरेका हुन्।
चुनावी गतिविधिलाई केन्द्रमा राख्दै स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर उक्त सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो। रास्वपाले झापा क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन शाहलाई उम्मेदवार बनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। दोषी पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
