काठमाडौं, माघ २३ – रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग जोडिएको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति जेन–जी अगुवा रक्षा बमले आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत घटनालाई गम्भीर रूपमा लिन आग्रह गरेकी हुन् ।
बमले राजनीतिक दल र समर्थकहरूलाई नेताको बचाउमा अन्धरूपमा नलाग्न चेतावनी दिएकी छन् । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति सम्भव नहुने उनको भनाइ छ ।
उनका अनुसार गाडीको ठक्करबाट बालिकाको ज्यान गएको घटनाबारे सामाजिक सञ्जालमा विभिन्न दृश्यहरू सार्वजनिक भएका छन् । यसअघि यस्तै घटनामा एमाले नेतृत्वको अभिव्यक्तिले जनआक्रोश बढेको स्मरण गराउँदै उनले अहिले पनि उस्तै प्रवृत्ति दोहोरिन लागेको बताएकी छन् ।
घटनाका बेला गाडीमा उम्मेदवार थिए वा थिएनन् भन्ने कुरा अनुसन्धानको विषय भए पनि अहिले जिम्मेवारीपूर्ण धारणा सार्वजनिक गर्नु आवश्यक भएको उनले उल्लेख गरेकी छन् । कानुनी प्रक्रियामा सहयोग गर्ने स्पष्ट प्रतिबद्धता जनाउन उनले आग्रह गरेकी छन् ।
यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले बालिकाको निधनलाई दुःखद भन्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको जनाएको छ ।
