काठमाडौं, माघ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुमवासी समस्यालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्ने बताएका छन् । शनिबार चितवन–२ का सुकुमवासीहरूसँग भएको भेटघाटमा उनले वास्तविक सुकुमवासीका हक–अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।
लामिछानेले सुकुमवासी समस्या समाधान गर्दा पार्टीगत आधारमा विभेद नगर्ने प्रतिज्ञा गरे । ‘मेरो पार्टीको कार्यकर्ता भए पाउने, नभए नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘कानुनले जसलाई योग्य ठहर गर्छ, उसैले पाउनुपर्छ ।’ यदि विगतमा भएका व्यवस्थाहरू गलत रहेछन् भने कानुन संशोधन गरेर भए पनि हकदारलाई जग्गा उपलब्ध गराइने उनको भनाइ थियो ।
उनले सुकुमवासी समस्यालाई चुनावी भोट बैंकका रूपमा प्रयोग गर्ने चलन सदाका लागि बन्द गर्ने प्रतिबद्धता दोहोर्याए । ‘पाउनुपर्नेले पाएपछि सुकुमवासी समस्याको नाममा चलिरहेको यो भोट बैंकको पसल आफैं बन्द हुन्छ,’ उनले भने, ‘यो चुनावी सभा नभएकाले पार्टीको घोषणापत्रमै स्पष्ट रूपमा समाधानको खाका ल्याउनेछौँ ।’
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि स्थिर सरकार आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले पाँच वर्षसम्म मजबुत सरकार सञ्चालन गर्न सक्ने गरी रास्वपालाई समर्थन गर्न आग्रह गरे ।
