धादिङ, माघ २५ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६, दशकिलास्थित सडक खण्डमा दुई वटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि एउटा बस सडकछेउको चिया पसलमा छिरेको हो।
आइतबार बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौं आउँदै गरेको प्र.३–०१–००६ ख १५५२ नम्बरको बस र बा.प्र ०१–००६ ख ५२०६ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। ठक्करपछि एउटा बस सडकछेउमा रहेको टिनले छाएको चिया पसलमा जोतिएको थियो।
दुर्घटनामा पसल सञ्चालक खगेश्वर शर्मा र पसलमा चिया पिउँदै गरेका धुनीबेशी नगरपालिका–९, स्याउलेका ३५ वर्षीय सुजन तामाङ घाइते भएका थिए। दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।
घाइते तामाङको उपचारकै क्रममा बिहान करिब १० बजे ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। तामाङ पेशाले टिपर चालक रहेको र सडकछेउमा टिपर रोकेर चिया खान पसलमा छिरेको खुलेको छ।
पसल सञ्चालक शर्माको भने बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसमा सवार यात्रुहरू भने सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ। दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।
