काठमाडौं, माघ २६ – जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद फेरि बढाइने भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको उक्त आयोगको समयावधि मन्त्रिपरिषद् बैठकबाट तेस्रोपटक थप्ने तयारी गरिएको हो।
सोमबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप्ने निर्णय गर्ने सम्भावना छ। यद्यपि, कति समयका लागि म्याद थपिने भन्ने विषयमा भने सरकारभित्र टुंगो लागिसकेको छैन।
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग तथा त्यससँग सम्बन्धित घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
तीन महिनाको समयसीमा तोकिएको आयोगले निर्धारित अवधिमा काम पूरा गर्न नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि म्याद थप गरेको थियो। त्यसपछि पनि प्रतिवेदन तयार हुन नसकेपछि माघ ८ गते पुनः २० दिन समय थपिएको थियो।
हाल आयोगको म्याद बुधबार (माघ २८ गते) सकिँदैछ। सो अवधिभित्र पनि काम नसकिएपछि फेरि म्याद थप्न लागिएको हो।
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा रहेको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनामा ७६ जनाको ज्यान गएको थियो। उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न आयोग गठन गरिएको हो।
