काठमाडौं, माघ २७ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमार्फत गरेको प्रचारजति प्रभाव चुनावी मैदानमा नदेखिएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रास्वपाले अघिल्लो निर्वाचनमा जितेका क्षेत्रमा जनमत कमजोर बन्दै गएको दाबी गरे।
प्रचण्डका अनुसार नयाँ स्थानमा भ्रम फैलाएर प्रभाव जमाउने प्रयास भइरहेको छ। उनले सामाजिक सञ्जालमा देखिने प्रचार र वास्तविक फिल्डको अवस्था फरक रहेको उल्लेख गर्दै भने, “जहाँ जनताले नजिकबाट बुझ्ने अवसर पाएका छन्, त्यहाँ उनीहरूको प्रभाव घटेको छ। तर जहाँ बुझ्न नपाएका छन्, त्यस्ता ठाउँमा हल्लाको असर देखिएको छ।”
उनले रास्वपाको प्रभावलाई तर्क र खण्डनमार्फत स्पष्ट रूपमा जनतामाझ राख्नुपर्ने आवश्यकता औंल्याए। साथै, वर्तमान अवस्था नेपाली कम्युनिस्ट पार्टीका लागि चुनौतीसँगै अवसर भएको भन्दै नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा युद्धस्तरमा खटिन निर्देशन दिए।
प्रचण्डले सबैलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारसँग समन्वय गर्दै पार्टीलाई जिततर्फ लैजान आग्रह गरे। कार्यविभाजनको विषय भने निर्वाचनपछि विस्तृत रूपमा छलफल गरिने उनको भनाइ थियो।
