विश्वप्रकाशको मतदातासँग प्रश्न : ०६४ दोहोर्‍याउने कि ०७० सम्झिने?


विश्वप्रकाशको मतदातासँग प्रश्न : ०६४ दोहोर्‍याउने कि ०७० सम्झिने?
  • नवकिरण
  • माघ २८, २०८२

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनलाई देशको भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसरका रूपमा लिन मतदातालाई आग्रह गरेका छन्। उनले मतदाताले विगतका अनुभव सम्झँदै विवेकपूर्ण निर्णय गर्नुपर्ने बताएका हुन्।

कांग्रेस जिल्ला कार्यसमिति दाङद्वारा घोराहीमा आयोजित जिल्लास्तरीय बृहत् भेलामा बोल्दै शर्माले २०६४ र २०७० सालका निर्वाचनको उदाहरण प्रस्तुत गरे। उनले प्रश्न गरे, “अब मतदाताले ०६४ जस्तो निर्णय दोहोर्‍याउने कि ०७० जस्तै जिम्मेवार निर्णय गर्ने?”

उनका अनुसार २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस दोस्रो दलमा सीमित हुँदा संविधान निर्माण प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न सकेन र चार वर्ष बित्दा पनि मुलुकले संविधान पाउन सकेन। तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो दल बनेपछि दुई वर्षभित्रै संविधान जारी गर्न सम्भव भएको उनले स्मरण गराए।

शर्माले निर्वाचनको मूल सवाल कुन दल विजयी हुन्छ भन्ने नभई जटिल परिस्थितिबाट देशलाई स्थायित्व र नयाँ दिशातर्फ कसले लैजान सक्छ भन्ने भएको उल्लेख गरे। देशलाई राजनीतिक अन्योलबाट बाहिर निकाल्न सक्षम शक्ति आवश्यक रहेको उनको भनाइ थियो।

इतिहासका विभिन्न चरणमा विविध राजनीतिक शक्ति, समुदाय र पुस्ताबीच समन्वय गर्दै निकास दिन सफल भएको दाबी गर्दै उनले अब पनि नयाँ पुस्तासहित व्यापक सहकार्यमार्फत देशलाई विश्वास र स्थायित्वको नयाँ चरणमा पुर्‍याउन कांग्रेस सक्षम रहेको बताए।