काठमाडौं, फागुन १ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका लागि निषेधाज्ञा लागू गरेको छ।
बिहीबारदेखि कार्यान्वयनमा आएको आदेशअनुसार विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई कुनै पनि किसिमका विरोध कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको हो।
प्रशासनका अनुसार गोल्डेन गेट प्रवेश क्षेत्रदेखि आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ स्थल तथा सम्पूर्ण विमानस्थल परिसरभित्र सभा, जुलुस, धर्ना, घेराउ र प्रदर्शनजस्ता गतिविधि गर्न पाइने छैन। निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भमा सम्भावित भीड र राजनीतिक गतिविधि नियन्त्रण गर्न यो कदम चालिएको जनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईं नेतृत्वका समूहहरूले झापाबाट फर्कने क्रममा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेका थिए। त्यसैलाई ध्यानमा राख्दै प्रशासनले समयमै निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा लागू भए पनि केही राजावादी समूहका नेता–कार्यकर्ता विमानस्थल क्षेत्रमा पुग्ने संकेत देखिएपछि सुरक्षा व्यवस्था अझै कडा पारिएको छ। विमानस्थल परिसरमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने प्रवेश गर्ने प्रत्येक व्यक्तिको कडाइका साथ चेकजाँच भइरहेको छ।
प्रहरीले विमानस्थल आसपास लामो समयसम्म समूहमा उभिन नदिने तथा भीड हुन सक्ने गतिविधि तुरुन्त नियन्त्रणमा लिने रणनीति अपनाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई आदेशको पालना गर्न आग्रह गरेको छ।
