अध्यक्ष ओलीलाई जिताउन एमालेको विस्तृत कारणपत्र सार्वजनिक


अध्यक्ष ओलीलाई जिताउन एमालेको विस्तृत कारणपत्र सार्वजनिक
  • नवकिरण
  • फागुन २, २०८२

झापा, फागुन २ – नेकपा एमाले ले पार्टी अध्यक्ष केपी शर्मा ओली लाई झापा–५ बाट विजयी गराउन आग्रह गर्दै ३० बुँदे अपिल सार्वजनिक गरेको छ। क्षेत्रीय कमिटीले जारी गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, विकास निर्माणको निरन्तरता र स्थानीय समस्याको समाधानका लागि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ।

‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकमा प्रकाशित अपिलमा देशमा देखिएको त्रास र अस्थिरता अन्त्य गर्दै शान्ति–सुरक्षाको प्रत्याभूति दिन ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख छ। साथै झापा–५ मा सुरु भएका अधुरा विकास आयोजनाहरू सम्पन्न गर्न पनि उनलाई निर्वाचित गराउनुपर्ने दाबी गरिएको छ।

एमालेले युवालाई प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार गरी रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न ओलीको भूमिका महत्वपूर्ण हुने जनाएको छ। सुस्ताएको अर्थतन्त्रलाई गतिशील बनाउने, कृषिक्षेत्रको आधुनिकीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित मत दिन आग्रह गरिएको छ।

निर्माणाधीन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडक जस्ता पूर्वाधार आयोजना सम्पन्न गर्न ओलीको जित आवश्यक रहेको अपिलमा उल्लेख छ। दमक–रवि–चिसापानी सडक, रतुवा, मावा र कमल खोलाको तटबन्धन कार्यलाई तीव्रता दिन पनि मतदातासँग सहयोग मागिएको छ।

त्यसैगरी दमक, गौरादह र गौरिगञ्ज बजारलाई आधुनिक र ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने, नेपाल–चीन मैत्री औद्योगिक पार्क सम्पन्न गर्ने तथा भूमिहीन, दलित र सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्धता पनि अपिलमा समेटिएको छ। एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले अपिललाई घरदैलो अभियानमा मतदातासँग संवादका लागि उपयोगी सामग्रीका रूपमा प्रयोग गरिएको जानकारी दिए।