काठमाडौं, फागुन ४ – रवि लामिछानेले आगामी निर्वाचनपछि देशमा सशक्त र स्थिर सरकार बन्ने दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले जनताको अपेक्षा पूरा गर्न सक्षम सरकार आवश्यक रहेको बताए।
सोमबार कालिका नगरपालिका–३ मा आयोजित स्थानीयसँगको अन्तर्क्रियामा उनले देशभर पार्टीको पक्षमा सकारात्मक माहोल बन्दै गएको उल्लेख गरे। “पहिला चितवनमा सुरुवात गर्दा त्यति माहोल थिएन, अहिले परिस्थिति फेरिएको छ,” उनले भने, “अब बलियो सरकार बन्छ भन्ने विश्वास बढेको छ।”
लामिछानेले अघिल्लो पटक सरकारमा सहभागी हुँदा जनताका समस्या समाधानका लागि प्रयास गरिए पनि विभिन्न कारणले सबै काम पूरा गर्न नसकिएको स्वीकार गरे। उनले आगामी दिनमा काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा स्थानीयवासीले सुकुम्बासी समस्याबारे पटक–पटक आश्वासन पाए पनि समाधान नभएको गुनासो राखेका थिए। त्यसप्रति ध्यानाकर्षण गराउँदै लामिछानेले सुकुम्बासीको मुद्दा आफूले पहिलेदेखि नै बुझेको भन्दै अब व्यवहारिक समाधानतर्फ अघि बढ्ने बताए।
