तुलसीपुरमा सूर्य झण्डा जलाउने घटना : एमालेको प्रतिक्रिया, ‘उत्तेजनाले राजनीति बलियो हुँदैन’


तुलसीपुरमा सूर्य झण्डा जलाउने घटना : एमालेको प्रतिक्रिया, ‘उत्तेजनाले राजनीति बलियो हुँदैन’
  • नवकिरण
  • फागुन ८, २०८२

दाङ, फागुन ८ – दाङको तुलसीपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकले नेकपा (एमाले) को चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएको घटनाले स्थानीय राजनीति तातेको छ।

विहीबार राति भएको उक्त घटनापछि एमालेले त्यसको कडा शब्दमा निन्दा गरेको छ। एमालेका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाइनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कदम हो।

एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा राजनीतिक असहमति व्यक्त गर्ने नाममा अराजक गतिविधि गर्नु गैरजिम्मेवार व्यवहार भएको उल्लेख गरिएको छ। उनले लोकतन्त्रमा विचार र नीतिको आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताए।

आचार्यले उत्तेजना र उग्र नाराबाट क्षणिक चर्चा पाइए पनि त्यसले दीर्घकालीन रूपमा राजनीतिक संस्कार कमजोर पार्ने दाबी गरे। उनले सबै राजनीतिक शक्तिलाई संयमित र मर्यादित व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्।