पोर्चुगलमा किर्ते प्रमाणीकरण प्रकरण : हजारौँ नेपाली संकटमा


पोर्चुगलमा किर्ते प्रमाणीकरण प्रकरण : हजारौँ नेपाली संकटमा
  • नवकिरण
  • फागुन १०, २०८२

पोर्चुगल, फागुन १० – पोर्चुगलमा बसोबास गरिरहेका हजारौँ नेपाली नक्कली छाप र हस्ताक्षर प्रयोग भएको प्रहरी चारित्रिक प्रमाणपत्रका कारण कानुनी समस्यामा परेका छन् । अस्थायी आवास अनुमति (टीआरसी) का लागि बुझाइएका कागजातमा त्रुटि भेटिएपछि अवस्था जटिल बनेको हो ।

लिस्वनस्थित नेपाली राजदूतावासका अनुसार दुई हजारभन्दा बढी नेपालीले आफ्नो प्रमाणपत्रमा दिल्लीस्थित पोर्चुगल तथा नेपाली दूतावासको नक्कली प्रमाणीकरण गरिएको भन्दै उजुरी दिएका छन् । दैनिक रूपमा राजदूतावासमा पीडितहरूको भीड बढिरहेको छ ।

उजुरीकर्ताहरूको भनाइमा, नेपाल प्रहरीले जारी गरेको रिपोर्ट सक्कली भए पनि प्रमाणीकरण प्रक्रियामा संलग्न व्यक्तिहरूले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेका छन् । कतिपयले दलालमार्फत कागजात तयार गराएको स्वीकार गरेका छन् ।

पोर्चुगलको आप्रवासन निकायले कागजात छानबिन गर्दा नक्कली प्रमाणीकरण भेटिएपछि सम्बन्धित व्यक्तिलाई देश छाड्न चेतावनी दिएको छ । केहीलाई सरकारी कागजपत्र किर्ते मुद्दा लगाउने तयारी गरिएको जानकारी समेत प्राप्त भएको छ ।

दूतावास स्थापना नहुँदा फ्रान्स वा भारतमा प्रमाणीकरण गराउनुपर्ने अवस्थाको फाइदा उठाउँदै केही समूहले ठूलो रकम असुली गर्दै नक्कली कागजात बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेका छन् ।

पीडितहरूले आफूहरू ठगीको शिकार भएको दाबी गर्दै कानुनी सहजीकरणको माग गरेका छन् । उनीहरूले नेपाल सरकार, दूतावास र समुदायका संघसंस्थासँग सक्रिय पहलको अपेक्षा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ । राजदूतावासले तथ्य संकलन गरी सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।