दाङ, फागुन ११ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनले पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्ने अवसर प्रदान गरेको बताएका छन्। दाङ–२ बाट उम्मेदवार रहेका उनले मतदाता भेटघाटका क्रममा जनतासमक्ष प्रत्यक्ष पुगेर वास्तविकता स्पष्ट पार्ने मौका मिलेको उल्लेख गरे।
सोमबार दाङका विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा भएका कामबारे जानकारी गराउँदै आएका छन्। “निर्वाचनको बेला मतदातासँग प्रत्यक्ष संवाद गर्न पाइन्छ, यही अवसरमा हामीमाथि लगाइएका गलत आरोप र भ्रमको जवाफ दिने काम भइरहेको छ,” उनले भने।
प्रचार अभियानअन्तर्गत उनले घोराही उपमहानगरपालिका–६ स्थित लालीगुराँस टोलको अनुगमन गरेका थिए। त्यहाँ सञ्चालनमा रहेको सडक तथा सिँचाइ योजनाको स्थलगत निरीक्षण गर्दै उनले विकास निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीयवासीले सडक ग्राभेल र कल्भर्ट निर्माणको माग राख्दै सुरु गरिएका योजनालाई पूर्णता दिन आग्रह गरेका थिए।
पोखरेलले अघिल्ला निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनतर्फ अग्रसर भएको दाबी गर्दै विकासका आधारमा मूल्यांकन गर्न मतदातासँग अनुरोध गरेका छन्। उनले बस्ती–बस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था तथा किसानका घरदैलोमा पुगेर पार्टीका पक्षमा समर्थन जुटाइरहेका छन्।
