काठमाडौं, फागुन १२ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने सरकारमा नेकपाको भूमिका अत्यन्तै महत्त्वपूर्ण र निर्णायक हुने बताएका छन्।
मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेनिकट मुक्ति समाज दोलाका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले आगामी सरकार निर्माण प्रक्रियामा नेकपा मुख्य शक्तिका रूपमा अघि बढ्ने दाबी गरे। उनले विगतको तुलनामा यसपटक पार्टीको प्रभाव र जिम्मेवारी अझ फरक र सशक्त हुने बताए।
निर्वाचन आउन अब केही दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई अझ सक्रिय, एकताबद्ध र समर्पित भएर अभियानमा लाग्न आग्रह गरे। कडा मेहनत र जनसमर्थनले नेकपालाई पहिलो शक्ति बनाउन सकिने उनको विश्वास थियो।
नेकपा गठनपछि वामपन्थी शक्तिहरूबीच नयाँ ध्रुवीकरणको वातावरण बनेको उनले बताए। छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एउटै धारमा उभिने परिस्थिति सिर्जना भएको उनको भनाइ छ।
प्रचण्डका अनुसार मतदाताले नेकपालाई सशक्त वामपन्थी शक्तिका रूपमा हेरिरहेका छन्, जसका कारण निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका निर्णायक बन्ने उनले दाबी गरे।
