काठमाडौं, फागुन १८ – प्रधानमन्त्री सुशीला कार्कीले केही दिनभित्रै देशको शासनसत्ता जनताले चुनेका प्रतिनिधिहरूको हातमा जाने बताएकी छन्।
फागु पूर्णिमा तथा फागुन २३ गते हुने निर्वाचनका सन्दर्भमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले आफूले कार्यकालभरि न्याय र निष्ठालाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै अब मुलुकको भविष्य निर्धारण गर्ने जिम्मा जनताकै हातमा जाने बताइन्। उनले चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएको पनि भनिन्।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, पारदर्शी र ऐतिहासिक बनाउनेतर्फ सबै पक्षले सहयोग गर्न उनले आह्वान गरिन्। छोटो समयमा निर्वाचन व्यवस्थापन गर्न सफल भएको भन्दै उनले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्।
निर्वाचन व्यवस्थापनका लागि वस्तुगत, नगद तथा प्राविधिक सहयोग उपलब्ध गराउने देशहरू र संयुक्त राष्ट्रसंघीय निकायहरूको समर्थन सराहनीय रहेको उनको भनाइ थियो। साथै, निर्वाचन आयोगले सीमित समयमै कार्यतालिका अनुसार आवश्यक तयारी पूरा गरेको र प्रदेश तथा स्थानीय तहहरूले पनि महत्वपूर्ण सहयोग पुर्याएको उनले जानकारी दिइन्।
