काठमाडौँ, फागुन २७ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक प्रणालीको मतगणना सकिएसँगै अब दलहरूले पाएको मतका आधारमा सिट निर्धारण गर्ने प्रक्रिया सुरु गरिनेछ।
आयोगका अनुसार प्रत्येक दलले प्राप्त गरेको सदर मतको आधारमा कति सिट पाउने भन्ने टुंगो लगाइनेछ। सिट संख्या निर्धारण भएपछि सम्बन्धित दलहरूलाई समानुपातिक बन्दसूचीबाट उम्मेदवार सिफारिस गर्न पत्र पठाइनेछ।
निर्वाचन आयोगले दलहरूलाई तीन दिनभित्र बन्दसूचीमा रहेका नाममध्येबाट आवश्यक संख्यामा उम्मेदवार सिफारिस गर्न आग्रह गर्ने तयारी गरेको छ।
दलहरूले पठाएको नामावली कानुनी प्रावधानअनुसार मिलेको वा नमिलेको आयोगले जाँच गर्नेछ। सबै प्रक्रिया पूरा भएपछि आयोगले समानुपातिकतर्फ निर्वाचित हुने ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।
