भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निगमको निर्णय


भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निगमको निर्णय
  • नवकिरण
  • फागुन २८, २०८२

काठमाडौं, फागुन २८ – बजारमा देखिएको ग्यास अभावलाई सहज बनाउन नेपाल आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ। निगमले शुक्रबारदेखि लागू हुने गरी यस्तो व्यवस्था गर्ने जनाएको हो।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट का अनुसार अब उपभोक्ताले ७.१ केजी तौलको आधा सिलिन्डर ग्यास खरिद गर्न पाउनेछन्। उक्त आधा सिलिन्डरको मूल्य पनि हालको दरको आधा नै हुने उनले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा भइरहेको द्वन्द्व र आपूर्ति व्यवस्थामा देखिएको समस्याका कारण बजारमा ग्यासको माग बढेको छ। त्यसैलाई व्यवस्थापन गर्न निगमले अस्थायी रूपमा आधा सिलिन्डर वितरणको नीति लागू गरेको हो।

निगमका अनुसार यस व्यवस्थाले धेरै उपभोक्तासम्म ग्यास पुग्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। पहिले एक हजार जनाले मात्र ग्यास पाउने अवस्थामा अब दुई हजार जनासम्मले ग्यास पाउन सक्ने निगमको दाबी छ।

साथै आधा सिलिन्डर वितरण गर्दा अनावश्यक रूपमा ग्यास संकलन गरेर राख्ने प्रवृत्ति पनि कम हुने विश्वास निगमको छ। निगमले यस निर्णयले बजारमा देखिएको ग्यास अभाव कम भई उपभोक्ताले सहज रूपमा ग्यास पाउने जनाएको छ।