इनिसा विकको मृत्यु प्रकरण : सुर्खेतमा विद्यार्थीको प्रदर्शन, दोषीलाई कारबाहीको माग


इनिसा विकको मृत्यु प्रकरण : सुर्खेतमा विद्यार्थीको प्रदर्शन, दोषीलाई कारबाहीको माग
  • नवकिरण
  • फागुन २९, २०८२

सुर्खेत, फागुन २९ – किशोरी इनिसा विकको शंकास्पद मृत्यु प्रकरणमा न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

शुक्रबार बिहान उषा बालबाटिका विद्यालयका विद्यार्थीहरू विद्यालय परिसरबाट र्‍याली निकाल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेका हुन्। उनीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारलाई अन्त्य गर’, ‘जस्टिस फर इनिसा’ जस्ता नारासहित प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने पनि बताएका छन्।

वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसाको शव २३ फागुन बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा फेला परेको थियो।

परिवारजनले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकाहरू सबै इनिसाकै कक्षाका विद्यार्थी हुन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।