काठमाडौँ, चैत १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकको मुख्य एजेन्डा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यको नाम टुंग्याउने रहेको छ।
नेताहरूका अनुसार, निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिक सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै अन्तिम सूची तयार गर्ने तयारी गरेको छ।
बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको पनि सहभागिता रहेको बताइएको छ। प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ।
पार्टीले आजै नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने प्रक्रियामा जुटेको र कार्यसम्पादन समितिले यस विषयमा अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, बैठकका तस्बिरहरू पनि पार्टीको सचिवालयबाट सार्वजनिक भएका छन्, जसमा नेताहरू सक्रिय रूपमा छलफल गर्दै देखिएका छन्
